तार्कु कुसुन्डे (कुशपानी) को संक्षिप्त परिचय
गण्डकी प्रदेश अन्तरगत लमजुङ जिल्लाको मध्य दक्षिणी भागमा रहेको भूभाग मर्साङ्दी नदीभन्दा पश्चिमको विकासोन्मुख नगरपालिका सुन्दरबजारको वडा नं ८ मा भोटेओडार बजारभन्दा पश्चिम माथिल्लो र तार्कुकोट तथा चण्डिस्थानभन्दा पूर्वमा तल्लो भूभागमा कुसुन्डे (कुशपानि) गाउँ अवस्थित छ । उत्तर पूर्व मोहोडा भएको बिचमा केही समथर जमिन र वरिपरि साना डाँडा, पाखा तथा वन जङ्गलले घेरिएको यो भूभाग अन्न उत्पादन, तरकारी तथा फलफूल खेती र पशुपालनका दृष्टिले उपयुक्त जमिन भएको स्थान छ । गाउँको केन्द्र भाग ठाडोबान्नाको मुखलाई मान्दा उत्तरी अक्षांश [लुकाइएको] र पूर्वी देशान्तर [लुकाइएको] मा पर्दछ भने समुद्रको सतहबाट गाउँको बिच भाग ठाडो बान्नाको मुख ८४५ मिटर उचाइमा अवस्थित छ । कुसुन्डे गाउँ र बेसी भोटेओडार हो । सडक मार्ग नखुल्दासम्म बेसीबाट गाउँमा पुग्नका लागि उकालो कतै सिँढी र कतै सम्म बाटो चड्दा आधा घण्टा देखि १ घण्टासम्म समय लाग्छ । हाल यो गाउँ तीनतिरबाट सडक मार्गले जोडिएको छ । डुम्रे बेसिसहर मार्गको ज्यामिर्ते खोला नजिकबाट घोक्रेस्वाँरा, योगीडाँडा हुँदै गाउँसम्म ३.७ किलोमिटर, भोटेओडार सुन्दरबजार मार्गको गँगटे खोला नजिकबाट बोगटीमुहान, वर्रे, देउराली डाँडा पल्लो पाखो हुँदै गाउँसम्म र धारापानीबाट कुसुन्डे सिख्रगाउँ, मन्थालो हुँदै गाउँसम्म । पैदल यात्राका लागि बगरेनीको अमलाको फेद, टुँडाको चौतारो, सिख्र, समीको फेद, सिस्नेरी जङ्गल, सिम्ले, गलैंचीबुट हुँदै ठाडोबान्नाको मुख र गाउँसम्म । पैदल बाटोको लागि नौबिसेको बाटो खोलाको चौतारा, अल्को चौतारा, आरुबोटे, बाथलो, कान्छी बुढीको चौतारो, सार्किस्वाँरो हुँदै ठुलो पँधेरा र गाउँसम्म यस्तै प्रकारले पैरेको चौरबाट पिङ भएको डाँडा, पल्लोबारी, मन्थलो, मडकिनो हुँदै गाउँसम्म । सिम्ले सिख्र हुँदै गाउँबेसी गर्ने बाटो १.०९ किलोमिटर छ । यस्तै प्रकारले यस गाउँबाट भरथोक हुँदै चण्डिस्थानतर्फ, काफलस्वाँरा रातमाटा हुँदै बलिथुमतर्फ, गैरावारी, दुम्सीदुलो वर्षरि, पुस्तुने गाउँ हुँदै नयाँ गाउँतर्फ चारैतर्फ गोरेटो, घोडेटो मार्गहरू चलनचल्तीमा छन् । यस गाउँ वा वरपर रहेका पुरातात्त्विक र ऐतिहासिक चिजहरूमा टुँडाको चौतारो, कोइराल्नीको चौतारो, नयाँ चौतारो, समीको रुख, सिम्लेको चौतारो, गलैँचीको बुट, डाडो बान्नो, मडकिनाको चौतारो, कालीदिदीको चौतारो, समीको चौतारो, रातोमाटा, डाँडाको (गीत गाउने) चौतारो, राम्चेको चौतारो र राम्चे बगैँचा, भरथोक पोखरी, मन्थालाको पोखरी, तोरी पेल्ने कोल, ठुलो पँधेरो, चण्डीस्थान, तार्कुकोट दरबार, दुम्सी लुक्ने दुलो, जलदेवी, कान्छी बुढीको चौतारो, बाथलाको चौतारो, ढोकाहालेको पँधेरो, सिस्नेरीको छहरो, चण्डीमुनिको चण्डीस्थान, गाम खेतको कुल देवताको थान, सार्की स्वाँराको चौतारो, मडीको बगैँचा आदि छन् ।
एकताका यी स्थानहरू आलु उत्पादन र सुन्तला खेतीका लागि चर्चित नै बनेको थियो भने हाल खेतहरूमा येनकेन धान मकै लगाइए तापनि बारीहरू सबै बाँझो अवस्थामा छन् । गाउँका सानो पँधेरो, ठुलो पधैँरो, गैराबारी, पारीघरेको पँधेरो, जैसीको पँधेरो, साउने पानी, कान्लेको मूल, कुवापानी, लामाको खोल्सो, चरिपानी आदि खाने पानीका स्रोतहरू हुन् । यस्तै प्रकारले देउराली गैरा, मन्थालाको पाखो, बनेती आदि सामुदायिक वन छ भने सिस्नेरी पाखा सापकोटाहरूको निजी वनको रूपमा रहेको छ । कुसुन्डेका मुख्य खेतीयोग्य जमिनहरूमा गाम खेत, विलौने पानी, तल्लो खेत, कैजेले, कान्ले, सिम्ले, पहरे पानी आदि हुन् भने पाखोबारीमा गाबटे, कटहरबारी, वोगटीबारी[?], विलौने पानी, कैजेले, सिम्ले, सार्की स्वाँरो, दमैबारी, ढाँड, दोपरे, गैराबारी, कोलबाटा, चण्डीमुनि, ढँडेलीबारी, जैसीबारी आदि छन् । यस्तै प्रकारले प्रमुख धार्मिक साँस्कृतिक स्थानहरूमा तार्कुकोट चण्डीस्थान, जलदेवी, चण्डी, कुलदेवतास्थान, घोक्रेस्वाँरा कालिका आदि हुन् । गाउँ वरपरिका चिनारी भएका स्थानहरूमा राम्चे, भर्थोक, गैराबारी, दुम्सीदुलो, बर्सरि, योगीडाँडा, कान्छी बुढीको चौतारो, बाथलो, सिस्नेरी, अर्चले, गलैचिबुट, ठाडो बान्नो, मडकिनो, मन्थलो, नाङ्ले खोरिया, डाँडाको चौतारो, रातमाटा, कुवापानी, ठुलो ढुङ्गा, देउराली गैरा, साउने पानी, कोलबाटो आदि हुन् । चलनचल्तीका गाउँघरका धेरै परिवारका उपनामहरू पनि छन् तिनीहरूमा बार्दली, ठुलाघरे, जिम्मल, पारिघरे, बुढाघरे, पलाँसे, नयाँघरे, सिरानघरे, जुम्ली, गल्लीमुनि, बर्मेली, खेतारे, धन्सारे, गलैचिबुटे, जैसी, ढँडेली आदि छन् ।
१५ औं र १७ औं शताब्दी (अनुमानित) का विचमा लमजुङे राजाले राज पुरोहितलाई कुसपानी समातेर दान दिएको जमिन भएको हुनाले “कुशपानी” भनिन्थ्यो तर पछि अपभ्रंस भएर कुसुन्डे भन्न थालिएको भन्ने भनाइ छ । तार्कु कुसुन्डे आजभन्दा करिब ५० वर्ष वरिपरिको र त्योभन्दा पहिलेको अवस्था हेर्दा सापकोटाहरूको ४५-५० घर गाउँको बिचमा, १२-१५ घर अधिकारीहरू गाउँको माथिल्लो भागमा, ५ घर भुजेल, ८-१० घर सार्की गाउँको तल्लोभाग सिम्ले गैरामा, थापा, खत्री, घिमिरे आदिको १-१ घर र ४ घर दमाईंको बसोबास थियो भने बसाइ सराइका कारण हाल ३ घर सापकोटा र २ परिवार भुजेल मात्र बाँकी छन् । बसाइ सराइ हुनुमा लामो गाउँ बेसी उकाली ओरालीबाट मुक्ति पाउन, विकासका विधिध सुविधाहरू जस्तै विद्युत, टेलिफोन, कुटानी पिसानी मिल, उत्पादनको विक्री तथा आवश्यक वस्तुको खरिदका लागि बजार आदि उपभोगका लागि अन्यत्र सुविधा सम्पन्न स्थानको खोजी, २०२७ साल वैशाख ३ गते अचानक आएको भीषण वर्षा र बाडीका कारणले घर खेत, टौवा, गोठ आदि बगाएर विस्थापित हुन परेको अवस्था त्यस्तै प्रकारले २०३० साल पछिको केही समय सिस्नेरीको वन, सिम्ले गैरो, अर्चले, कैजेले गाम खेतको तल्लो भागसमेत बगुवा लागेर जमिन उबाडखाबड हुने क्रम नरोकिनु आदि हुन् । तार्कु कुसुन्डेका सापकोटाहरू हाल सुन्दरबजार नगरपालिका वडा नं ८ को सिख्र, नौबिसे, ओडार, वडा नं ९ को भोटेओडार तल्लो बजार, उपल्लो बजार, धारापानी, फेदिकुना, गँगटे आदि स्थानमा छरिएर रहेका छन् । २०१२ सालमा सरकाले राप्ती दुन विकास परियोजना सुरु गरी चितवनको जमिन वितरण गर्न सुरु गरेपछि झन्डै आधा सङ्ख्याका सापकोटा घरपरिवार २०१३ देखि २०१६ सालमा चितवन वसाइ[?] सरेको पाइन्छ । त्यस समयमा बसाइ सर्ने सापकोटा परिवारहरूका जैसी, पारिघरे, जिम्मल, वर्मेली, गलैचीबुटे आदि परिवारका झन्डै आधाआधी परिवार कुसुन्डेमा र चितवनमा बाँडिएको अनुमान गरिन्छ । यस्तै प्रकारले बसाइ सर्ने क्रम निरन्तर चलिनै रह्यो । चितवन बाहेक अन्यत्र जानेहरू काठमाडौं, दाङ, कैलाली, कन्चनपुर, बाँके, बारा आदि स्थानमा छरिएका छन् । भने छोरी चेलीहरू मेचीदेखि महाकालीसम्म छरिएका छन् ।
यस्तै प्रकारले सापकोटा वाहेकका अरु परिवारहरु पनि कतिपयले घर जगा जमिन समेत विक्रि गरेर स्थायी रुपमानै वसाई सराई गरिसकेका छन् भने कतिपयको अन्यत्र वसोवास भएको भएतापनि स्थायी ठेगाना कुसुण्डेनै कायम गरिरहेको पनि पाईन्छ । केही समतथर खेत र केही पाखोवारी मिश्रीत उर्वर भुमी भएको कारणले व्यवसायिक पशुपालन, फलफल तथा तरकारी खेतीका लागि विभिन्न व्यक्ति तथा समुहहरुले समय समयमा प्रयास गरेको भएता पनि हालसम्म सफ हुन सकेको छैन । वर्षा याममा सिंचाईको लागि प्रसस्त पानि भएतापनि हिउँदका लागि या सुख्खा यामको लागि पिउनका लागि २ वटा मुल पँदेरा स्थायी श्रोत भएतापनि सिचाइका लागि पानिको अभावन छ । मानव वसोवास तथा सामान्य परम्परागत खेतीपातीका लागि ज्यादै उपयूक्त जमिन भएको भएतापनि व्यवसायिक कृषिका लागि दिगो सिंचाई श्रोतको व्यवस्था हुन सकेमा यो स्थान मानव वसोवास र व्यवसायिक कृषिका लागि उपुक्त स्थान छ ।
सम्पादक
स्रोत: पृष्ठ ४, पृष्ठ ५