सापकोटा वंशावली

भाग एक: परिचय

सापकोटाको ऐतिहासिक पृष्ठभूमि

मानव सभ्यताको विकासक्रमसँगै ई.पू. ७०० मा सिन्धुघाटी र आसपासमा रहेका इन्दुस नदीको किनारमा हिन्दुहरूको सभ्यता विकास भएको भनिन्छ । इन्दुसको नामबाट हिन्दु नामाकरण भएको मानिन्छ । हिन्दु समग्र वैदिक सभ्यताको अधुनातन नाम हो । हिन्दुहरूको मूल देवता ब्रह्मा हुन् र ब्रह्माका शिष्यहरू ऋषिमुनिहरू हुन् । ऋषिहरूको समयदेखि गोत्रहरूको सुरु भएको हो । ऋषिहरूले आफ्ना सन्ततिहरू, आफूले सञ्चालन गरेका गुरुकुलमा शिक्षा दिक्षा लिएका, आफ्नो संरक्षण र लालनपालनमा सहयोग गरेका परिवारहरूलाई गोत्रको नाम दिए । तिनैका सन्ततिहरू बढ्दै फैलिँदै जाँदा विभिन्न गोत्रहरूमा विभाजित हुँदै गए । वशिष्ठ ऋषिका कुलमा जन्मेका कौडिन्य ऋषिले आफ्नो नामबाट कौडिन्य गोत्रको सुरुवात गरेका हुन । एकै गोत्रका सन्ततिमा रगतको सम्बन्ध हुन्छ र रगतको सम्बन्धमा विवाहलाई वर्जित गरिएको छ । कौडिन्य गोत्रमा धेरै थरहरू छन् । नेपालमा कौडिन्य गोत्रमा रहेका थरहरूमा सापकोटा, सत्याल, अवस्थी, आचार्य=दीक्षित, बन्जाडे, बास्कोटा, गैरे, कमलकोटे, खड्का, खरेल, मरासिनी, न्यौपाने, प्याकुरेल, भट्ट, पनेरु, पराजुली, थापा, पाठक, सेगुवाल, पुन्जारी, लकाई रावल, चाहार, शास्त्री, मजुमदार, पखर्धन, घाँटे, लम्जेल, त्रिताल आदि पर्दछन् भने भारतमा मिथिला ब्रामणहरू र अन्यको समेत कौडिन्य गोत्रका विभिन्न थरहरू भएको जानकारी पाइन्छ ।

पश्चिम नेपालको हाल कर्णाली प्रदेशको जुम्ला र दैलेखको दुल्लुमा राजधानी भएको विशाल खस साम्राज्यको विघठन चौधौं शताब्दीतिर भएपछि बाइसे चौबिसे राज्यहरू जन्मिए । खस साम्राज्य कालमा र त्यसपछि पनि खस आर्य क्षत्री ब्राह्मणहरू पूर्वतिर बसाइँ सर्ने गरेको पाइन्छ । यस क्रममा उनीहरू देशैभर छरिन पुगेका थिए । सिँजा राज्यका राजपुरोहित परमानन्द भट्टका आचार्यका साहिँलो नाति नरहरि पाध्याले रुकुमको साखिखोला गाउँ विर्ता पाएर बसेको र उनका पालादेखि सापकोटा भन्न थालियो भन्ने भनाइ रहेको छ । त्यस कारण नरहरि सापकोटा सापकोटाहरूको आदि पुरुष हुन् भनेर मानिएको छ । वि.सं. १४४८ मा सिन्जा राज्यको विघटन भएर अन्यत्र बिस्तार भई सापकोटाहरू वाग्लुङ, म्याग्दी, त्यसपछि कास्की हुँदै अन्यत्र सरेको पाइन्छ । तार्कु कुसुन्डेमा आउने हाम्रा पुर्खा वाग्लुङबाट कास्कीको तारकाँङ र तारकाँङबाट तार्कु कुसुन्डेमा आएको भन्ने प्रमाण भेटिन्छ । त्यस कारण सापकोटाहरूको मूलस्थान साखिखोल रुकुमको सर्पकोटा हो र त्यस स्थानबाट दैलेख, वाग्लुङ, पर्वत, कास्कीमा बिस्तार भए । ती स्थानहरूबाट पनि बिस्तार भई हाल नेपालको ५८ जिल्लामा सापकोटाहरूको बसोबास भएको प्रमाण भेटिन्छ । (स्रोत सापकोटा कल्याण केन्दद्वरा प्रकाशित वंशावली २०७४)

नरहरि सापकोटाका छोरा क्षेत्रपाललाई हामीले कुल देवताका रूपमा पूजा गर्ने गरेका छौँ भने अछाम जिल्लाको रीमा वासकोटमा रहने सन्ततिहरूले नरहरिका अर्का छोरा श्रीपाललाई रिमाल भनेर पूजा गर्ने गरेका छन् । उनै रिमाललाई हामीले दोस्रो स्थानमा पूजा गर्ने गरेका छौं । त्यस कारण सबै सापकोटाहरूले नरहरिका दुई जना छोराहरूलाई कुल देवता मान्ने गरेको पाइन्छ । नरहरि पछिको दोस्रो पुस्ता क्षेत्रपाल हुन् । नरहरिपछि १७ औं पुस्ताका भवानी शङ्करका तीन छोरा विद्याधर, जयकृष्ण र सर्वानन्दमध्येका एक छोरा १८ औं पुस्ताका सर्वानन्द सापकोटा वाग्लुङबाट कास्कीको तारकाँङ आएको देखिन्छ (सापकोटा वंशावली पेज नं २) । सर्वानन्दका छोरा १९ धर्मानन्द - २० भगिरथ -२१ श्रीकान्त - २२ भक्तु - २३ हरिकान्त -२४ कृष्ण - २५ रामचन्द्रका छोरा २६ औं पुस्ताका भूमिनन्द सापकोटा १६ औं र १७ औं (अनुमान) शताब्दीको विचमा कास्कीको तारकाँङबाट लमजुङको तार्कु कुसुन्डे कुशपानी आउनुभएको देखिन्छ (सापकोटा वंशावली पेज नं ३८४) ।

लमजुङमा शाहा वंशिय राजा भएको समयमा १६ औं र १७ औं (अनुमान) शताब्दीको विचमा नरहरि सापकोटाका २६ औं पुस्ताका भूमिनन्द सापकोटा र उनका छोरा सर्वानन्द (सर्वानन्द=षडानन्द र भिवानन्द फरक फरक नाम भेटिए तापनि सर्वानन्दनै हो भन्ने बुझिएकोले यस वंशावलीमा सर्वानन्द नै कायम गरिएको छ ) तारकाङबाट हिँडेको भए तापनि भूमिनन्द अन्त कतै गएको र २७ औं पुस्ताका सर्वानन्द तार्कु कुसुन्डे (कुशपानी) मा आई डोको बिसाएको भन्ने जानकारी पाका ज्येष्ट नागरिकहरूबाट थाहा पाइएको थियो । भूमिनन्द लमजुङमा आएको भए तापनि तार्कु कुसुन्डे (कुशपानी) नभई अन्यत्र गएको भन्ने भनाइलाई आधार मान्दा सापकोटाका आदि पुरुष नरहरिका २७ औं पुस्ताका सर्वानन्दलाई कसुन्डेका सापकोटाको १ नम्बर पुस्ता व्यक्ति मानी यो वंशावली तयार गरिएको छ । त्यसभन्दा अगाडिका तथ्यहरू खोजबिन गर्ने काम जारी रहने छ र कुनै तथ्य भेटिएमा यसमा दोस्रो संस्करणमा परिमार्जन गरी समेटिने छ । सर्वानन्दलाई पहिलो पुस्ताका रूपमा मान्दा आज तार्कु कुसुन्डेमा र यहाँबाट पनि अन्यत्र बसाइँ सराइ भएकाहरू १३ औं पुस्तासम्म फैलिएका छन् । कुसुन्डेबाट वसाई सराइकै क्रममा धेरै सङ्ख्यामा चितवन र केही मात्रामा काठमाडौँ, दाङ, बारा आदि स्थानमा स्थानान्तरण भएका छौं । विभिन्न स्थानमा भए तापनि आधिकारिक बसाइ सराइ भएको जनसङ्ख्याहरूमा यो वंशावली प्रकाशनका मितिसम्ममा विवाहित छोरीहरूलाई गणना नगर्दाको जनसङ्ख्या ६६४ (३२८ महिला र ३३६ पुरुष) छ । जस्मा सुन्दर बजार नगरपालिकाको भोटेओडार र आसपासमा २३४ जना, चितवनका विभिन्न स्थानमा २७० जना, दाङमा ३१, बारामा १७, तनहुँमा ३, बाँकेमा ११, कैलालीमा ६, काठमाडौँमा ३८, ललितपुरमा ८, भारतमा ७, अमेरिकामा १०, क्यानडामा ६, बेलायतमा ३, जर्मनीमा २ र अष्ट्रेलियामा ३ जना रहेका छन् ।

तार्कु कुसुन्डे (कुशपानी) सापकोटाहरूले पाँच पाँच वर्षको अन्तरालमा कुलपूजा गर्ने गरेका छन् भने पूजामा विशेष गरी क्षेत्रपाल नरहरिका जेठा छोरा, रिमाल नरहरिका कान्छा छोरा, कनकानन्द, वागेश्वर (छैटौं पुस्ताका पिताम्वरका सन्ततिमा मात्र सीमित), र नाग पूजा (नागमाता, नागराजा र नाग रानी) गर्ने परम्परा छ । कनकानन्दको पूजा गर्ने प्रचलनको पछाडी यस्तो किम्वदन्ती रहेछ :

नरहरिको मृत्युपछि क्षेत्रपाल राजा भए । क्षेत्रपाल घुम्दै जाँदा रुकुम पन्चकोशीमा प्रत्येक वर्ष चैत्र मसान्तमा राजा मर्ने भएकोले मानिसहरू राजा बन्न तयार हुँदा रहेनछन् तर क्षेत्रपाल एक[?] [cut] लागि तयार भए । चैत्र मसान्तको राती राजा मर्नुको रहस्यको अनुसन्धान गर्दा सो रातमा रानीको सयनबाट नाग निस्केर राजालाई डस्ने र राजा मर्ने गरेको रहस्य पत्ता लागेपछि सो रात उनी जाग्राम बसे । रातीको १२ बजे रानीको सयन कक्षाबाट सर्प निस्केर राजालाई डस्न लाग्दा उनले तरवारले सर्पलाई टुक्रा टुक्रा पारी मारे र राजाको मृत्यु हुन छोड्यो । राजाले सर्प काटेको हुनाले सोठाउँको नाम सर्पकोट रहन गयो । रानी जीवित रहने शक्ति नागमा निहित रहेकोले नाग मरेपछि रानीको शक्ति कमजोर हुँदै गयो र बिरामी परिन् । बिरामी भएकी रानीले राजालाई कनककन्या देवीको पूजा गर्नको लागि राजासँग आग्रह गरिन् र देह त्याग गरिन् । त्यस समयदेखि रानीको आग्रहमा क्षेत्रपाल राजाले कुलको पूजामा कनककन्या देवीको पूजा गर्ने चलन चलाए र हालसम्म कनककन्या (हाल कनकानन्द भनिने) देवीको पूजा गर्ने चलन चलिआएको छ । (सापकोटा वंशावली पेज नं क. २५)

यस्तै प्रकारले कुशपानीका सापकोटाहरूले सर्वानन्द पछिका छैटौँ पुस्ताका बाघेश्वर सापकोटालाई भालुकोरे भनेर पूजा गर्ने चलन छ । बाघेश्वर समाजसेवी तथा त्यस समयका बलवान र कर्मशील व्यक्तित्व थिए । उनले गरेको योगदान त्यस समयको गाउँको लागि अतुलनीय मानिन्छ र कालन्तरसम्म रहिरहने छ । त्यो काम हो गाउँको ठाडो बान्नो भनेर चिनिने गलैचिबुटदेखि ठाडो बान्नाको मुखसम्मको करिब ५०० मिटर गाउँबेसी गर्ने ठाडो बाटो गाउँखेत र पाखो बारीलाई छुट्याउने गरी ठुला ठुला छपनी ढुङ्गा लगाएर बनाउनु भएको रहेछ । यस सम्वन्धमा ज्येष्ठ नागरिकहरूबाट २ प्रकारका भनाइ रहेको पाइयो । एकथरीको मानिसहरूका भनाइअनुसार तत्कालीन अवस्थामा काम गर्ने औजारहरूको अभाव हुँदा हातका नङले भालुले जमिन खोस्रेझैँ खोस्रेर काम गर्ने भएकोले भालुकोरे भनेर नाम राखिएको हो भने अर्काथरीको उनी बिहान काम गर्ने खेतला खोज्न गाउँतिर गएका थिए । घरमा आउन ढिला भयो । बुढीले भान्छा कुरेर अबेरसम्म बस्नु पर्‍यो । घरमा आएर पनि भान्छामा खाना खान नगई पूजापाठ गरेर रुद्राक्षको माला लिएर जप गर्न थालेकोले बुढीलाई रिस उठेर रुद्राक्षको माला खोसेर अँगेनामा जलाइ दिइन् । त्यो रिस थाम्न नसकेर घरबाट निस्केर हिँडे । त्यस समयमा हालको गाबटेसम्म जङ्गलै जङ्गल थियो । गाबटेमा पुगेपछि उनलाई भालुले कोपरेर मारेको हुनाले भालुकोरे भनिएको हो भन्ने भनाइ छ । त्यस कारण उनलाई कुलपूजामा भालुकोरे भनेर पूजा गर्ने गरिएको छ भन्ने कुरा ज्येष्ठ नागरिकहरूबाट सुनिन्छ ।

तार्कु कुसुन्डे (कुशपानी) मा फैलिएका सर्वानन्द सापकोटाका सन्ततिहरू बसाइँ सराइका क्रममा अन्यत्र जाँदा प्रायः सबैले आफ्नो सापकोटा थरलाई कायम राखेको भए तापनि २०१० (अनुमानित) सालतिर यस स्थानबाट दाङ गएका तिर्थराज सापकोटाले के.सी.(कारण थाहा भएन) लेख्न थालेको हुनाले हाल उनका सन्तति सबैले के.सी. लेख्ने गरेका छन् । उनका सन्तति हाल दाङका विभिन्न भूभाग, बाँके र कैलालीसम्म पुगेका र सबैले के.सी. लेख्ने गरेका छन् । यस वंशावलीको प्रकाशनका प्रभावले अब उप्रान्त प्रमाणपत्रहरूमा के.सी. लेखिएकोले के.सी. लेख्नुपर्ने भए तापनि कोष्टमा सापकोटा लेख्नका लागि प्रयत्न गरिने छ ।

सम्पादक

स्रोत: पृष्ठ १, पृष्ठ २, पृष्ठ ३