सापकोटा वंशावली

सङ्कलकको भनाइ

जीवनको पूर्वार्ध आफू, घर, बालबच्चा र परिवारमा रुमलिएको महसुस भयो । लामो समय जे सकियो ज्ञानगुन बाँड्नका लागि शिक्षकको पेसामा संलग्न भएँ । शिक्षक पेसाबाट निवृत्त भएपश्चात् जीवनको उत्तरार्धमा कुल र समाजको लागि केही गर्ने जाँगर पलायो र विभिन्न प्रकारका सामाजिक कार्यमा संलग्न हुँदै जीवन व्यतीत गरिरहेको छु । यसै क्रममा विभिन्न सामाजिक तथा पारिवारिक परिघटनाहरूले आफ्नै कुल वंशको वंशावलीको अवश्यकताको महसुस गरायो । पुर्खा र परिवारका बारेमा भावी सन्ततिमा कालन्तरसम्म स्मरण भइरहेने कुल वंशको परिचय दिने जाँगर चल्यो । आफ्नो जीवनमा भोगेका र जान्ने भएपछि अहिलेसम्म आइपुग्दा धेरै अग्रज, समकक्षी र आफूभन्दा साना उमेरका धेरै बन्धुबान्धव गुमाएको याद आइरहन्छ । यस्ता घटनाहरू घटिरहेका र छन् अनन्तसम्म घटिरहने छन् । आफ्नो कुल कहाँबाट कसरी सुरु भयो र कोको हुँदै यहाँसम्म आइपुगियो तथा सन्ततिहरूको फैलावट कस्तो छ त भनेर सूचना पाउने बलिया आधार भनेको लिपिबद्ध भएको वंशावली नै हो भन्ने महसुस गरी यो वंशावली तयार गरेको छु । यसका लागि विगत दुइ वर्षदेखि अध्ययन, अनुसन्धान तथा सूचना सङ्कलनमा जुटिरहें । विभिन्न स्थानहरूको भ्रमण, विभिन्न स्थानमा छरिएर रहेका आफ्नै कुलका बन्धुबान्धव तथा ज्येष्ट नागरिकहरूसँगको छलफल, सूचनाहरूको सङ्कलन तथा प्राप्त सूचनाहरूको सँगालो तयार गर्ने कामको एक चरण पूरा भएको छ ।

वंशावलीको अभावमा बसाइ सराइका कारणले पुख्यौली[?] थलोलाई छोडेर विभिन्न स्थानमा छरिएर बसेका बन्धुबान्धव र इष्टमित्रभित्रमा पनि विभिन्न अवस्थामा भेटघाट हुँदा चिनजानीसमेत नहुने, कतिपय अवस्थामा जोड्न नहुने वैवाहिक सम्बन्धसमेत जोडिन पुगेको, आफ्नै बन्धुबान्धवसँग चिनजान नभएका कारणले साँझमा बाससमेत नदिने अवस्था जस्ता घटनाहरू घटे र यसले पनि वंशावली तयारीमा बढी जाँगर पलायो । त्यसै कारण वंशावली तयार गरी त्यस्ता नमिठा घटनाहरूलाई न्यूनीकरण गर्दै अन्तमा निर्मूल गर्ने उद्देश्यले प्रेरित भई मैले यो वंशावलीको पाण्डुलिपि तयार गरेको छु । यो वंशावली तयार हुँदैछ भन्ने जानकारी पाएका सम्बन्धित सापकोटा बन्धुहरूले पछिल्लो चरणमा निकै उत्सुकताका साथ हेरिरहेका, सहभागीता जनाइरहेका, आफूले दिनुपर्ने सूचनाहरू दिइरहेको र गर्न सक्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाइरहेको हुनाले यस कार्यमा समर्पित रहने झन हौसला मिलेको छ । यसको अन्तिम रूप एक पुस्तक पाण्डुलिपि तयार भएको छ र पाएसम्मका सूचनाहरू समावेश गर्ने प्रयास गरिरहेको छु । यसबाट सापकोटा बन्धुहरूका बिचमा बसाइले भूगोलमा टाढा भएपनि रगतको नाताले सबै नगिच छौं भन्ने भावना जागृत हुने आशा पलाएको छ । चिनजान नभएका बन्धुबान्धवहरू र इष्टमित्रहरूसँग चिनजान हुने अवसर पनि मिल्यो, पारिवारिक माया, सद्भाव र सामीप्यता हुने अवसर पनि मिल्यो । अहिले आएर आफ्नो समाजको लागि निकै उपयोगी काम गरेको रहेछु भन्ने गर्वानुभूति भएको छ ।

धेरै सापकोटा बन्धु तथा अन्य महानुभावहरूले विभिन्न तरहका सहयोग गर्नुभएर मात्र यो वंशावली यस रूपमा प्रस्तुत गर्न सम्भव भयो भन्ने लाग्छ । खास गरेर सुरुको सूचना सङ्कलन अवधारण तयार गरी सङ्कलन प्रश्नावली तयारी, वंशावलीको ढाँचा तयारी तथा सङ्कलित सूचनाहरू कम्प्युटरमा राखी पुस्तकको आकार दिने र वंशावली सम्पादन तथा प्रकाशनमा भाइ हरिश्चन्द्र सापकोटाको प्रमुख भूमिका रह्यो । यसका लागि भाइप्रति हार्दिक आभार व्यक्त गर्दछु । यसै गरी आवश्यक सहयोग र नियमित उत्प्रेरणा प्रदान गर्ने श्रीमती चिजामाया सापकोटा, छोराहरू दिनेश र भीष्म, बुहारीहरू रिता र कविता र नातिहरू दिवस[?] र कृतन, नातिनीहरू दीक्षा र कृष्णाबाट पनि थप हौसला र निरन्तर सहयोग प्राप्त भयो । यसकारण परिवारका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यो काम नितान्त सूचनामा आधारित छ, यसकारण सोधेको प्रश्नका आधारमा सही सूचना दिनुहुने महानुभावहरू सबै यो वंशावलीका मूल आधार हुनुहुन्छ । यस अवसरमा सूचना दिनमा सहभागी हुनुहुनेहरू सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । यसका अतिरिक्त प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । प्रथम प्रयास भएकोले यसमा सुधार गर्नुपर्ने धेरै पक्षहरू हुनसक्छन्, थप सुझावहरू सङ्कलन गर्दै अबका पुस्ताले यो वंशावलीलाई समयानुकूल प्रविधिमैत्री बनाई निरन्तर अध्यावधिक गर्नेछन् भन्ने आशा लिँदै समय समयको भेला तथा छलफल, भेटघाटमा भएका कुराकानी आदिमा सरिक सापकोटा बन्धुहरूको सहयोगले नै यो कार्य सम्भव भएको हो भन्ने लागेकोले यो वंशावली सम्पूर्ण सापकोटा बन्धुहरूमा समर्पण गर्दछु ।

जय सापकोटा बन्धु

स्रोत: भूमिका, भूमिका